१७ कार्तिक २०८२, सोमबार
Follow Us

सस्तो सुनको लोभले लियो ज्यान, काठमाडौंका व्यवसायीको झापामा हत्या

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार ०५:४३

काठमाडौं । सस्तो सुन खरिद गर्ने चक्करमा काठमाडौंमा व्यवसाय गर्दै आएका झापा, शिवशताक्षी नगरपालिका-१० माइधारका ३२ वर्षीय सञ्जय शर्माले ज्यान गुमाएका छन् । दसैं-तिहार मनाउन झापा आएका शर्मा आपराधिक गिरोहको योजनाबद्ध शिकार बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार, शर्माले केही समयदेखि सस्तो सुनको खोजी गरिरहेका थिए । यस क्रममा उनको चिनजान स्थानीय सुनील साहसँग भयो, जसलाई उनले सुन खोजिदिन आग्रह गरेका थिए । सुनीलले यही अवसरलाई लुटपाट र हत्याको योजनामा बदले । सुनीलले आफ्ना भान्जा राहुल साह र एक भारतीय नागरिकको सहयोगमा शर्मालाई फसाउने षड्यन्त्र रचे । उनीहरूको सुरुको योजना पैसा लुट्ने, शर्मालाई अपहरण गरी भारत लैजाने र फिरौती असुल्ने थियो । तर, उनीहरूले ठगी र फिरौतीभन्दा हत्या गर्न सजिलो ठाने ।

गत कात्तिक ९ गते, सुनीलले शर्मालाई ‘सुन गाडेको ठाउँ देखाउँछु’ भन्दै झापाको अर्जुनधारा नगरपालिका-४, दहीझोडा सामुदायिक वनमा लगे । साँझ साढे ५ बजे एकान्त स्थानमा पुगेपछि सुनील र राहुलले हथौडा प्रहार गरी शर्माको विभत्स हत्या गरे । हत्यापश्चात् उनीहरूले एक भारतीय नागरिकको सहयोगमा शवलाई झापा गाउँपालिका-५, विरिङ खोलाको बगरमा गाडे । अपराधीहरूले प्रमाण लुकाउन शर्माकै बा.प्र.०१-३० च ७१९४ नम्बरको गाडीमा शव ओसारेका थिए । पछि उक्त गाडीलाई मेचीनगर-१२, निचाझोडा सिमसार क्षेत्रमा लगेर आगजनी गरेको खुलेको छ ।

प्रहरी अनुसन्धानले अपराधीहरूको प्रयास असफल बनायो । घटनास्थल वरिपरिबाट शर्माको चप्पल र अन्य महत्त्वपूर्ण प्रमाण फेला पारेपछि प्रहरीले घटनाको शृङ्खलालाई जोड्न सफल भयो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, डीएसपी खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न स्थानीय २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई पक्राउ गरिएको बताए । मामा-भान्जा नाता पर्ने उनीहरू दुवैले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यद्यपि, घटनामा संलग्न भारतीय नागरिक भने अझै फरार छन् र उनको खोजी तीव्र पारिएको छ । प्रहरीले पक्राउ परेका मामा-भान्जामाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएको छ । शर्माको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

धेरै पढिएको