२२ बैशाख २०८१, शनिबार
Follow Us

बागलुङमा ‘कोरोना महामारी हाम्रो जिम्मेवारी’ सपथ अभियान

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७७, बुधबार ११:३०

बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत ६ बुँदाको शपथ खुवाइएर अभियानको शुरुवात गरिएको छ । उक्त अभियानअन्तर्गत आ–आफ्नो निकाय, वडास्तर, सङ्घसंस्था र कार्यालयस्तरमा एक हप्तासम्म सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो र पर्चापम्लेटबाट व्यापक प्रचारप्रसार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने अभियानलाई शुरु गरिएको हो । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीयस्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको छ बुँदे सपथ नाराले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको विश्वास छ । “हामीले छ बुँदामा तयार पारेको सपथ खुवाउने अभियान मङ्गलबार जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुबाट शुरुवात गरेका छौं” प्रजिअ न्यौपानेले भन्नुभयो, “सात दिने अभियानमा वडा स्तरसम्मै सपथ खुवाउने कार्यक्रम गरिने छ ।”

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णयानुसार शपथ खुवाउने अभियान थालिएको हो । जिल्लामा कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखलाई शपथ खुुवाउने कार्यक्रम रहेको छ ।

कोरोना महामारी हाम्रो जिम्मेवारी अभियानअन्र्तगत म कोरोना भाइरसबाट बच्छु, यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु, यसका लागि म जो कोहीसंग भेट्दा माक्स लगाउँछु, जो कोहीबाट दुई मिटरभन्दा पर बस्छु, नजिक जानुपरे १० मिनेट मात्रै बस्छु, केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, स्वाद थाहा नपाएमा, वान्ता भएमा तथा झाडापखला लागेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नेछु भन्ने छ बुँदे सपथ खुवाइँदैछ ।