२२ बैशाख २०८१, शनिबार
Follow Us

भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीबाट विभूषित गरिँदै

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ०६:१८

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई आज नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिँदैछ । राष्ट्रपति भवन शितल निवासमा हुने विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो सम्मान प्रदान गर्न लागेकी हुन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप नरवाणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । आज नै उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

स्थलसेनाध्यक्ष नरवणेले आज बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

नरवणेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम पनि छ ।

उनको सम्मानमा आज नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ । उनी भोली नै स्वदेश फर्कनेछन् ।