२२ बैशाख २०८१, शनिबार
Follow Us

अस्पतालले उपचार नगरेपछि संक्रमित महिलाद्वारा आत्महत्या

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ०६:२०

मोरङ । आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छिन् । मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आत्महत्या गरेकी हुन् ।

नियमित डायलाइसिसका क्रममा कोरोना संक्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँ माग गरेको थियो । उपचार खर्च ब्यहोर्न नसकेपछि घर ल्याइएकी उनले झुण्डेर आत्महत्या गरेकी हुन् ।

उपचार गराउन सकिन्छ कि भनेर धेरै प्रयत्न गर्दा पनि सम्भव नभएको श्रीमान टेकबहादुर मगरले बताए । संक्रमितले उपचार खर्च नपाएको बिषयमा ढिलो गरी जानकारी आएकाले सहयोग गर्न नसकेको जनप्रतिनिधिले बताए ।

मगरले दशैंको टीकाको दिन आत्महत्या गरेकी हुन् । मगर परिवारको आर्थिक उपार्जन हुने अरु बलियो आधार नहुँदा नरमायाले आत्महत्या गरेको स्थानीयको भनाइ छ ।