२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार ०८:२९

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग नरवणेले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री र नरवणेबीच भएको भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतीपय विषयमा दुई देशबीच रहेको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थित थिए ।

यसअघि, आजै विहान नरवणेले माउन्टेन फ्लाइट गरेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत् नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको अवलोकन गरेका हुन् । नरवणे विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटरमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गरी हिमालको दृष्य अवलोकन गरेर फर्किएका हुन् ।

त्यसपछि उनले शिवपुरीमा रहेको सेनाको तालिम केन्द्रमा अधिकृतहरुलाई सम्बोधन गरेका थिए । तीन दिने भ्रमण पूरा गरी नरवणे आजै स्वदेश फर्कने कार्यक्रम छ ।