काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका-९ स्थित प्रसिद्ध तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । प्रतिकूल मौसम र भारी हिमपातका कारण बिच बाटोमै फसेका पर्यटकहरूको उद्धारका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले आज बिहान ६ बजे सबैलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सुरुमा १५ जना पर्यटक अलपत्र परेको खबर प्राप्त भए पनि, उद्धार टोलीले घटनास्थलमा १३ जना (दुई चिनियाँ नागरिक र ११ नेपाली) लाई मात्र फेला पारेको थियो । चिनियाँ नागरिकहरूले मौसम खुल्ने प्रतीक्षामा बेस क्याम्पमै बस्ने निर्णय गरेपछि, सशस्त्र प्रहरीले ११ जना नेपाली पर्यटकलाई चामे दिशातर्फ ल्याएको छ ।
यस जटिल उद्धार अभियानका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विशेष सुरक्षा फौज र मेडिकल टोली खटाइएको थियो । दुर्गम हिमाली भेगमा पैदलै खटिएको टोलीले प्रतिकूल मौसमका बाबजुद पनि उद्धार कार्यलाई सफलतापूर्वक सम्पन्न गरेको छ ।
उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य परीक्षण गर्दा एक जना महिला बिरामी परेको, एक जना पुरुषको खुट्टामा चोट लागेको र अधिकांशको अक्सिजन लेबल कम देखिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि सुरक्षित स्थानमा ल्याइएको छ ।
समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल विश्वको अग्लो स्थानमा रहेको तालमध्ये एक हो। यसको अनुपम प्राकृतिक सौन्दर्यले गर्दा यो स्वदेशी तथा विदेशी पर्यटक र पर्वतारोहीहरूका लागि एक प्रमुख गन्तव्य बन्ने गरेको छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा मौसमको अप्रत्याशित परिवर्तनले गर्दा पर्यटकहरू बेलाबेलामा यस्तै समस्यामा पर्ने गरेका छन् ।