१५ कार्तिक २०८२, शनिबार
Follow Us

नेकपा एसमा भुईँचालो : झलनाथ समूहको छुट्टै भेला

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०८२, शनिबार ०५:०९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीमा विभाजन निश्चित भएको छ । माओवादी केन्द्र लगायतका समाजवादी घटकहरूसँग एकता गर्ने केन्द्रीय समितिको बहुमतको निर्णयपछि एकीकृत समाजवादी औपचारिक रूपमा फुटको डिलमा पुगेको हो ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल सहितको एक समूहले पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अन्य दलसँग एकता गर्न नहुने अडान लिएको थियो । तर, केन्द्रीय समितिले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि यो समूह असन्तुष्ट बनेको हो ।

झलनाथ खनाल समूहले शनिबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा छुट्टै भेला बोलाएको छ । भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल लगायत सयभन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहने खनाल पक्षले दाबी गरेको छ । यी नेताहरू सुरुदेखि नै माओवादीसँग एकताको विपक्षमा थिए ।

पछिल्लो समय पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीमा नेतृत्व परिवर्तनको माग उठेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि नैतिकताका आधारमा पनि माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग झलनाथ पक्षले गर्दै आएको छ ।

‘जेनजी आन्दोलन’ पछि अन्य दलले नेतृत्व पुनर्गठनको प्रक्रिया अगाडि बढाएसँगै माधव नेपालमाथि अध्यक्ष पद छाड्न दबाब बढेको थियो । खनाल पक्षले माधव नेपालले आफूलाई बचाउनका लागि पार्टी पुनर्गठनमा भन्दा माओवादीसँग एकता गर्ने प्रक्रिया अगाडि बढाएको आरोप लगाएको छ ।

धेरै पढिएको