२९ बैशाख २०८१, शनिबार
Follow Us

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०५:३५

काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । चौतर्फी दवाबपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले विपन्न, ज्येष्ठ नागरिक लगायत निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कोरोनाको परिक्षण तथा उपचार निःशुल्क गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।

त्यस्तै बैठकले मन्त्रिपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलव कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । कोरोनाविरुद्धको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली पनि गठन भएको छ ।

बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय पनि गरेको छ । बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि मल किन्ने निर्णय बैठकले गरेको हो ।

साथै पुस्तक आयातमा लाग्दै आएको विवादास्पद भन्सार महशुल खारेज गर्ने निर्णय समेत गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने बताइएको छ ।