२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–चीन सीमा विवादमा कांग्रेसले आधारहीन हल्ला फैलाएको आरोप

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार १०:०७

काठमाडौ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले चीनले नेपालको भूमि मिचेको भन्ने तथ्यहीन खबर फैलाउन नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाएको छ । हू इज बिहाइन्ड द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप निराधार भएको उल्लेख छ ।

तथ्यहीन खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले सहयोग गरेको उल्लेख छ । त्यसमा भारत पक्ष ठानिएको नेपाली कांग्रेस र उसका नेताहरु लागिपरेको आरोप ग्लोबल टाइम्सको खबरमा लगाइएको छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरेको ग्लोबल टाइम्सको खबरमा आरोप लगाइएको छ । शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरि चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए ।

नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएको प्रति नेपाली बुद्धिजीविहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको पनि ग्लोबल टाइम्सले उल्लेख गरेको छ । केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रशारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोप पनि खबरमा छ ।

नेपालका केही सञ्चारमाध्यमहरु पनि भारत पक्षीय शक्तिको प्रभावमा रहेका र तिनीहरुले चीनले सीमा मिचेको भन्ने खबरलाई प्राथमिकता दिएको आरोप लगाइएको छ । ग्लोबल टाइम्सको सो खबरमा नेपाल ठूलो मात्रामा अदृश्य विदेशी लगानी भएको सानो देश रहेको उल्लेख छ ।