२७ बैशाख २०८१, बिहीबार
Follow Us

बैतडी बस दुर्घटना अपडेट : मृत्यु भएका ९ जनाकै पहिचान

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार ०८:५८

बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी, डिलाशैनी गाउँपालिका ७ घर भएका विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्की, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पहिचान खुलेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

मृत्यु भएका ९ जनामध्ये ७ पुरुष र २ महिला छन् । दुर्घटनामा ३४ जना घाइते भएका छन् । बसका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन्। घाईते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस हिजो राति दुर्घटना भएको हो ।