२१ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको शुभकामना

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७७, शुक्रबार ०६:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।

छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै सबै नेपालीमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै छठ मनाउन सबैमा आह्वान पनि गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको अवसरमा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपासना गरेर मनाइने छठ पर्वले नेपालीहरुकाबीच आपसी सदभाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।