२८ बैशाख २०८१, शुक्रबार
Follow Us

बालाचतुर्दर्शीमा पशुपतिमा दीपदान नहुने

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७७, शनिबार ०५:०७

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेका छन् ।

यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषले जनाएको छ । यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले पशुपतिको सट्टा नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् ।

आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्ने चलन छ । बाला चतुर्दशीनमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।