३० बैशाख २०८१, आईतवार
Follow Us

नेकपा स्थायी समिति बैठक आज बस्ने, प्रधानमन्त्री ओली सहभागी हुने

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०२:४४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बोलाइएको छ । अघिल्लो बैठकमा पत्र मात्रै पठाएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने सहभागी हुने बताइएको छ ।

स्थायी समिति बैठकको एजेण्डा सहमतिमा निर्माण भइसकेको अवस्थामा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने भएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक चरित्र सिध्याउने गरी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने अडान राखिरहेका छन् ।

दाहाल पक्षले भने स्थायी समिति बैठकमा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ भनेर साझा एजेण्डा तय गरिएपनि त्यसअन्तर्गत दाहालको प्रस्ताव, एमसीसी, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल हुने अडान लिएको छ ।

आज पनि दुबै पक्षा आआफ्नै अडानमा कायमै रहे नेकपा विवाद थप चुलिने सम्भावना छ । ओली र दाहालबीच कार्यविभाजन र क्षेत्राधिकारलाई लिएर उत्पन्न विवाद गत भदौ २८ गतेको स्थायी समिति बैठकबाट समाधान भएको भनिएपनि पछिल्लो दुई महिना यता दुई नेताविच शक्तिसंघर्ष चर्किएको छ ।