२९ बैशाख २०८१, शनिबार
Follow Us

शान्तिपूर्ण प्रदर्शन गर्न देउवाको कार्यकर्तालाई निर्देशन

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०८:३७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार स्वास्थ्य सतर्कता अपनाएर देशभर सरकार विरोधी प्रदर्शन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक अपिल प्रकाशित गर्दै सोमबार हुने देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरेका हुन् ।

उनले प्रदर्शन व्यवस्थित र शान्तिपूर्ण बनाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । कांग्रेसले सरकारका बेथिति र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शन गर्दैछ ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने विज्ञप्तिमा उल्लेख छ ।

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित हुँदा जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको देउवाको भनाइ छ । लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको अपिलमा उल्लेख छ ।

जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढोस भनेर नै कांग्रेसले सडक देखि संसदसम्म तिव्र दवाव दिने देउवाले बताएका छन् । जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भएको भ्रष्टाचार छानविन हुनुपर्ने उनको माग छ ।

शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने कार्यलाई देउजाले अधिनायक आकांक्षाको अर्को उदाहरण भनेका छन् । महिला हिंसा र बलात्कार, बेरोजगारी बढनुका साथै लाखौं विद्यार्थीको भविष्य अन्यौलमा हुँदा समेत सरकार चुप बसेको प्रतिपक्षीको आरोप छ ।

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल कांग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् ।