३० बैशाख २०८१, आईतवार
Follow Us

चिनी मिलले अझै दिएनन् ९० करोड, किसान काठमाडौंमा आन्दोलन थाल्दै

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०८:३९

काठमाडौं । उखु किसानहरुले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरु गर्ने भएका छन् । चिनी उद्योगहरूबाट उखुको रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् । उनीहरुले आन्दोलनको पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनका लागि सर्लाही, रौतहट र नवलपरासीबाट एक हजार भन्दा बढी किसान काठमाडौं आएका छन् ।

कात्तिक २३ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएर भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएपछि किसान आन्दोलनमा उत्र्रन लागेका हुन् ।

चिनी उद्योगहरूले किसानहरुलाई करिब ९० करोड रुपैया दिन बाँकी छ । देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी दिएका छैनन् । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सर्लाहीकै महालक्ष्मी सुगर मिलले ६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड दिएको छैन । नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।