३१ बैशाख २०८१, सोमबार
Follow Us

भिजिट भिषाबारे नयाँ कार्यविधि तयार हुँदै

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७७, सोमबार १०:०९

काठमाडौँ । अध्यागमन विभागले विमानस्थलबाट भिजिट भिसामा हुने शंकास्पद विदेश भ्रमणलाई रोक्न र भ्रमण व्यवस्थित गर्न अध्यागमन कार्यविधि ल्याउने तयारी गरेको छ ।

अध्यागमन विभागले नयाँ ल्याउन लागेको कार्यविधिमा बीमासम्बन्धी व्यवस्था अनिवार्य गर्न लागिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीले भने ‘भिजिट भिसा गन्तव्य मूलुकले नै उपलब्ध गराउने भएकाले त्यहाँ रहँदा यात्रुहरु अलपत्र नपरुन, त्यस्तो गाह्रो अप्ठेरो परेमा सहज होस् भन्ने हेतुले नयाँ कार्यविधिमा बीमा सम्बन्धी व्यवस्था थप गर्न लागिएको हो ।’

भिजिट भिसामा विदेश जान अंग्रेजी भाषा बोल्न जान्नुपर्ने, एसएलसीसम्म पढेको हुनुपर्नेजस्ता विषय कार्यविधिमा राख्ने तयारी नभएको तर यसबारे केही मिडियाहरुले हल्ला फिजाएको पनि उनले स्पष्ट पारेका छन् । उनले भने, ‘धेरैजसो युवायुवतीहरु घुम्ने जाने भनेर मेनपावर कम्पनी र ट्राभल एजेन्सीको सेटिङमा झुक्क्याएर भिजिट भिसामा खाडी मुलुकमा जाने गरेका र त्यहाँ गएर अवैद्यरुपमा काम गर्ने गरेकाले अलपत्र पर्ने गरेका छन् , भिजिट भिसामा जान लागेका उद्धेश्य स्पष्ट नभएका, शंकास्पद भ्रमणमा रहेकालाई अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाउने गरेको छ ।’

हालको कार्यविधिअनुसार भिजिट भिसामा विदेश जान पासपोर्ट र भिसासँगै दुईतर्फी हवाई टिकट, एक हजार अमेरिकी डलर, होटेल बुकिङ तथा कोही आफन्त विदेशमा भएको प्रमाणित कागजपत्र आवश्यक हुन्छ । त्यति कागज भए पनि शंकास्पद लागेमा अध्यागमन अधिकृतले फर्काउन सक्ने तजबिजी अधिकार छ । भिजिट भिसाका सम्बन्धमा अध्यागमन विभाग प्रायःजसो विवादमा पर्ने गरेकाले कर्मचारीबाट अधिकार दुरुपयोग नहोस् भनेर नियमित रूपमा अनुगमन भइरहेको विभागका महानिर्देशक केसी बताउँछन् ।