३० बैशाख २०८१, आईतवार
Follow Us

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति प्रचण्डको आपत्ति, तत्काल खारेज गर्न माग

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार १०:०२

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् ।

मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ ल्याएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग गरेका हुन् । पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएकोमा उनको असन्तुष्टि छ ।

आजै बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद् बैठक बोलाएइका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर बैठक स्थगित भएको थियो । यस्तै, यसअघि २८ गतेपनि सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।

अहिलेकाे संवैधानिक व्यवस्था अनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । तर, हाल जारी गरेको अध्यादेशअनुसार अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।