काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार मन्त्रीको मातहत रहने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको भन्दै यसको कुनै औचित्य नरहेको बताएका छन् ।
स्याङ्जामा आयोजित कार्यक्रममा उनले यो विधेयक केही स्वार्थ समूहको चलखेलमा ल्याउन लागेको टिप्पणी समेत गरे ।
‘अहिले मिडिया विधेयकहरू आउँदै छ । यो सबै सरकारको नेतृत्वमा जकडिएको छ । सञ्चार मन्त्रीको मातहतमा ल्याउने भए मिडिया काउन्सिल नराखे हुन्छ, किन चाहियो ?’
प्रजातान्त्रिक समाजवाद नभए देश अधोगतितिर जाने उनको भनाइ छ ।
बहुविवाहसम्बन्धी कानूनबारे भइरहेको चर्चा र बहसप्रति पनि उनले ध्यानाकर्षण गराए ।
‘सबैभन्दा पहिले लोकतन्त्र अत्यन्तै महत्वपूर्ण छ । समाजवादमात्र भनेर पुग्दैन, त्यो कम्युनिष्टले भन्ने कुरा हो । हामीले बहुलवादको कुरा गरेका थियौँ संविधानमा लेख्न माओवादीले मानेनन्’, कोइरालाको भनाइ थियो ।
टिकटक र रिल्स हेरेर बनाउने विचारले बिगार्ने भन्दै उनले थपे, ‘विचार त अखबारहरू पढेर पो बनाउने हो त । एक मिनेटको कुरा, आधा मिनेटको कुरा हुन्छ त्यसले विचार बनाउन थाल्यो भने कस्तो विचार बन्छ ? सामाजिक सञ्जालमा नलेख्नुस् भन्दिनँ लेख्नुस्, हेर्नुस् । आजकाल इन्टरटेन्मेन्टको स्रोत पनि हो ।’