२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा स्थायी समिति बैठक आज, तनाव झन चुलियो

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार ०५:०५

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन भन्दै तीन दिन स्थगित बैठक आज बस्न लागेको हो ।

नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि झनै तनावपूर्ण बनेको छ । स्थायी समिति बैठकले प्रधानमन्त्रीले ल्याएको विधेयक फिर्ता गर्नुपर्ने विषयमा निर्णय गर्ने सम्भावना छ ।

मंगलबार नै बैठकमार्फत् सचिवालयका बहुमत सदस्यले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेका छन् । मंसिर २८ को स्थायी समिति बैठकमा सहभागी भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बुधबारको बैठकमा सहभागी हुने वा नहुने निश्चित भएको छैन ।

मंसिर २१ को बैठकमा भने ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेश भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् ।

गत वैशाखमा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश र दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी र बाहिरबाट चर्को विरोधपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।