१६ बैशाख २०८१, आईतवार
Follow Us

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७७, सोमबार १३:५६

काठमाडौ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच यस्तो सम्झौता भएको हो।

चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १ सय २० भित्र प्रतिवेदन पेस गर्ने सहमति पनि बनेको छ । उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो।

उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन थालेका थिए । आन्दोलनरत किसानले चिनी उद्योगले नब्बे करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ । किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन सुरु गरेका छन ।