१५ असार २०८१, शुक्रबार
Follow Us

संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम: पुष्पकमल दाहाल

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७७, मंगलवार १३:०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रतिनिधि सभा पुनस्र्थापना गरेरै छाड्ने दाबी गरेका छन् । मंगलबार नेकपा (दाहाल–नेपाल) पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको भन्दै पुनस्र्थापना गरेरै छाड्ने बताएका हुन् । ओलीको कदम संविधानको मर्म, भावना र अक्षरको विरुद्धमा रहेको भन्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा भंग नभई ओली नेतृत्वको सरकार भंग भएको बताए ।

अध्यक्ष दाहालले विघटनको विरुद्धमा राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज, पूर्व न्यायाधिसहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्ने विश्वास व्यक्त गरे । उनले अदालतको फैसलालाई प्रभावित पार्न सडकमा आएको नभई फैसला निम्ति जनताले गरेको सहजीकरणको रुपमा सडकमा आएको रुपमा बुझिदिन आग्रह गरे ।

नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै अध्यक्ष दाहालले ७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफुसँग भएको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफुहरुले पाउनेमा दिनको घामजस्तै छर्लङ्ग रहेको बताए ।