३० बैशाख २०८१, आईतवार
Follow Us

निर्वाचन आयोगद्वारा प्रमाण पेश गर्न नेकपाका दुवै समूहलाई पत्राचार

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार ०५:४२

काठमाडौं । निर्वाचन आयोगले नेकपामा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ । आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको हो ।

आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको जनाएको छ । अनुसूची १८ दलको विवरण हेरफेर सम्बन्धी व्यवस्था छ । जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने व्यवस्था छ ।

दुवै पक्षले आधिकारिक नेकपा आफू भएको दावी गरेपछि आयोगले पुष्टि हुने कागजात मागेको हो । नेकपाको दाहाल–नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएका छन् ।

दाहाल नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ ।

अर्कोतर्फ अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समितिको संख्या ११ सय ९९ पुर्‍याएको निर्णय गर्दै ५ सय ४६ लाई मनोनयन गरेका छन् । निर्वाचन आयोगमा ४ सय ४७ सदस्यीय केन्द्रीय सदस्यहरुको नाम रहेको छ ।