३० बैशाख २०८१, आईतवार
Follow Us

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७७, बुधबार ०९:३७

काठमाडौं । अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा एकपछि अर्को अवहेलना सम्बन्धी मुद्दा पर्न थालेका छन् । प्रतिनिधिसभा विघटविरुद्ध अदालतमा जारी मुद्दामा विज्ञिप्त निकालेको भन्दै बुधबार चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन् । पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनुपर्ने सन्देश गएको दाबी गरिएको छ ।

अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा राख्ने खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ । यस्ता प्रकारका संविधान र कानून विपरीत कार्य गर्नु, निष्पक्ष र स्वतन्त्र तथा सक्षम न्यायालयलाई प्रभावित गर्ने गरी प्रेस विज्ञप्ती जारी गरी अदालतको अनआस्था फैलाउने कार्य विपक्षीबाट भएको निवेदनमा उल्लेख छ ।

यस्तो कार्यले समाजमा अदालतप्रति विश्वास र स्वतन्त्र, सक्षम न्यायपालिकाको गरिमाप्रति अनास्था फैलाउने कार्यले अराजकतालाई प्रोत्साहन गर्ने भन्दै अवहेलनाको मुद्दा दर्ता गरेको भट्टराईले उल्लेख गरेका छन् । उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन् ।