धरान । सुनसरीको धरान उपमहानगरपालिका-११, पुण्य मार्गमा मंगलबार साँझ एक युवकको हत्या भएको छ । आफ्नै मामाका छोरा (भाइ) को खुकुरी प्रहारबाट ३५ वर्षीय रुपक राईको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार साँझ करिब ६ः३० बजेको समयमा सामान्य विवादले उग्र रूप लिँदा ३३ वर्षीय रविन राईले दाजु रुपकमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । खुकुरीको गम्भीर चोटका कारण रुपकको घटनास्थलमै प्राण गएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटना लगत्तै पुगेको प्रहरी टोलीले आरोपित रविन राईलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) भीषणबाबु राईका अनुसार मृतकको शरीरका विभिन्न अङ्गमा खुकुरीको गम्भीर चोट देखिएको छ । ‘घटनाको प्रकृति हेर्दा रिसिइबीका कारण आक्रमण भएको देखिन्छ,’ डिएसपी राईले भने, ‘हामीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएका छौँ ।’
मृतक राईको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुई दाजुभाइबीच कुन विषयलाई लिएर विवाद उत्पन्न भएको थियो भन्नेबारे अझै यकिन हुन सकेको छैन ।