काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसका बीच सभापति शेरबहादुर देउवाले मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। बुधबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलमा देउवाले कानुनी अड्चन नभए आगामी निर्वाचनमा उम्मेदवारको टिकट वितरणमा हस्ताक्षर गर्ने अधिकार अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताएका हुन् ।
पार्टीभित्र विशेष गरी उम्मेदवार चयनको अधिकार (टिकटमा हस्ताक्षर)लाई लिएर महामन्त्री पक्षले प्रश्न उठाइरहेका बेला सभापति देउवाले यस्तो लचकता देखाएका हुन् । छलफलका क्रममा देउवाले भने, ‘अहिलेसम्मका निर्वाचनमा सभापतिको हैसियतले मैले नै हस्ताक्षर गर्दै आएको छु । तर, आगामी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनी रूपमा मिल्छ भने म त्यसमा बाधक बन्दिनँ । यस विषयमा कानुनी परामर्श गरौँ ।’
पार्टीको नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका महामन्त्रीद्वयलाई देउवाले आगामी १५औँ महाधिवेशनसम्म कुर्न आग्रह गरेका छन् । आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने भनिएको नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने सुनिश्चित रहेको भन्दै उनले अहिल्यै नेतृत्वको मुद्दा नउठाउन जोड दिए । ‘म आफैँले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरिसकेको छु, विधानले पनि मलाई अनुमति दिँदैन,’ देउवाले महामन्त्रीहरूसँग भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार वैशाखमा महाधिवेशन हुँदैछ, त्यतिबेलासम्म धैर्य गरिदिनुस् ।’
महामन्त्रीद्वय थापा र शर्माले आइतबारदेखि भृकुटीमण्डपमा ‘नीति र नेतृत्व परिवर्तन’को एजेन्डासहित विशेष महाधिवेशन सुरु गरेका छन् । तर, यो विशेष महाधिवेशनलाई संस्थापन पक्ष र डा. शेखर कोइराला समूहले मान्यता दिएका छैनन् । विवाद समाधानका लागि दुवै पक्षबाट गठित वार्ता समितिहरूबीचको संवाद निष्कर्षविहीन भएपछि शीर्ष तहमा छलफल भएको हो ।