२२ असार २०८१, शुक्रबार
Follow Us

कोरोनाविरुद्धको नयाँ खोप नोभाभ्याक्सको सफल परीक्षण, ८९ प्रतिशत प्रभावकारी

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७७, शुक्रबार ०७:१८

लन्डन । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले बेलायतमा गरेको परीक्षणमा यस्तो नतिजा आएको हो ।

बेलायतका १५ हजार मानिसमा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको नोभाभ्याक्सले जनाएको छ । परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका भएको उसले जनाएको छ ।

फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले परीक्षण नतिजालाई सुखद भनेका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप स्वीकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा वितरण गर्न तयारी अवस्थामा रहेको बताएका छन् ।

बेलायतले आफ्नै देशको स्टकटन अन टिज शहरमा उत्पादन गरिने यस खोपको छ करोड मात्रा सुनिश्चित गरिसकेको छ । बेलायतको नियामक निकायले स्वीकृत दिएमा सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा यो खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो । बेलायतले हालसम्म अक्सफोर्ड र एस्ट्राजेनिका, फाइजर र बायोएनटेक र मोडेर्ना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।