काठमाडौं । काठमाडौं महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख सात हजार रुपैयाँ नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तामाङ रहेका छन् ।
उनीहरुको साथबाट २२ लाख आठ हजार १५० रुपैयाँ र २४ थान चेक बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा सो रकम र चेक फेला पारेको हो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।