काठमाडौं । बर्डफ्लु नेपालमा भित्रिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । पशु सेवा विभागका प्राविधिकहरूले शनिबार बर्डफ्लु पुष्टि भएका २ हजार ५४४ हाँस, कुखुरा, टर्की र बट्टाई नष्ट गरेको जनाएका छन् ।
फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषणशालामा शुक्रबार रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु (एचफाइभएनएट) पुष्टि भएको हो ।
बर्डफ्लु पुष्टि भएपछि शनिबार नै त्यस क्षेत्रका १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन अथवा बिक्री स्थलमा अस्वाभिक रूपमा पन्छी बिमारी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचित गर्न सबैमा आग्रह समेत गरेको छ ।