हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न आजका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । ‘विशेष कारण’ देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको हो ।
प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि तोकिएको छ । मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाएका थिए ।
पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । सो कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयको भनाइ छ ।
बैठक स्थगित गरिएकोमा नेकपाको दाहाल नेपाल पक्षले आपत्ति जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठले सल्लाह नगरी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै सो समूहले आपत्ति जनाएको हो ।
मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ८० मध्ये ४५ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन । तिमध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएका छन ।