४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बामदेवसित चिनिया राजदूतकाे कफी मिटिङ

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७७, सोमबार १२:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नारायणहिटी दरवारको पूर्वी गेटमा रहेको राधे–राधे कम्प्लेक्समा सोमबार दिउँसो गौतमसित चिनिया राजदूत यान्छीले भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले बताएको छ । संयोजक गौतम र राजदूत यान्छीबीच सो कम्प्लेक्समा रहेको एक कफी सपमा बारम्बार भेटवार्ता हुँदै आएको छ । औपचारिक भेटवार्ता नभएको गौतमका सचिवालय सदस्य विश्वमणी सुवेदीले जानकारी दिए ।

संयोजक गौतम कफी पिउनका लागि सो स्थानमा जाने र राजदूत पनि आएको समयमा भेट भएको हुनसक्ने उनको भनाइ छ । ‘यो औपचारिक भेटवार्ता होइन, कफी मिटिङ मात्र हो’ उनले भने ।

चीन नेकपा एकताको पक्षमा छ । पार्टी एकता अभियान चलाएका नेता गौतमलाई चिनिया राजदूतले बारम्बार भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गौतमसित तीन हप्ताअघि पनि यान्छीले भेटेका थिए । राधे–राधे कम्प्लेक्समा गौतमका छोरा हरिशदेव गौतमको अफिस छ । कतिपय भेटवार्ता वामदेवले सो अफिसमा गर्ने गरेका छन् ।