५ जेष्ठ २०८१, शनिबार
Follow Us

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२० माघ २०७७, मंगलवार ०७:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । स्रोतका अनुसार बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि विविध कारणले स्थगित गरिएको छ । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन् । सोहीअनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।