काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् ।
संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन उनले बैठक माग गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई फोन गरेर बैठक बोलाउन आग्रह गरेको पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
चुनाव भन्दै संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति र हजारौं कार्यकर्तालाई राजनीतिक नियुक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले उपद्रो गर्दा कांग्रेस चुप बस्न नहुने पौडेलको भनाइ छ ।
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा पार्टीले औपचारिक धारणा नल्याएपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह सभापति देउवाप्रति असन्तुष्ट छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै निर्णय गर्न सकिने गरी अध्यादेश जारी गरी त्यसैका आधारमा बसेको बैठकले गरेको सिफारिसलाई नमान्ने घोषणा कांग्रेसले गरेको थियो ।
तर नियुक्तिपछि कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन । संवैधानिक निकायमा केहीलाई देउवाकै सिफारिसमा प्रधानमन्त्री ओलीले नियुक्त गरेको आरोप लाग्दै आएको छ ।