सिओल । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिसमेत रहेका प्राज्ञ सरूभक्त श्रेष्ठले मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन गरे । दोस्रो चरणमा रेडियोकर्मी तथा गीतकार रमेश पौडेल मुक्तककार रामजी आचार्य, सुनिल अधिकारी, नृपेश उप्रेती, गङ्गा पौडेल, सन्तोष अम्गाईं, विष्णु वाग्लेले आफ्ना मुक्तक वाचन गरे ।
त्यस्तै प्रतिष्ठानले नेपाली मुक्तकको विकास र विस्तारका लागि अतुलनीय योगदान दिएबापत मुक्तककार प्राञ्जललाई ‘युवा मुक्तक प्रतिभा सम्मान २०७६’ तथा संस्थालाई विशेष योगदान दिएबापत ‘सक्रिय सदस्य सम्मान’ बाट दीपकराज बञ्जाडेलाई सम्मान गरिएको थियो । सम्मान राशि जनही रु ११ हजार १ सय ११ थियो । प्रतिष्ठानले यो सम्मान कार्यक्रम हरेक वर्ष निरन्तर गर्ने पनि बताएको छ ।
भेलाले सर्वसम्मतरुपमा आरएनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्दोष शिव, उपाध्यक्ष तपेन्द्र विष्ट, महासचिव प्रचण्ड सापकोटा, सचिव दीप रावल, कोषाध्यक्ष आरपिसी सङ्गम र सहकोषाध्यक्ष राम सुवेदीलगायत ४० जनाभन्दा बढी सदस्य चयन भएका छन् । साहित्यकार सरुभक्तले नेपाल मुक्तक प्रतिष्ठानले मुक्तकको विकासमा पुर्याएको उल्लेख योगदानको प्रशंसासमेत गरे । कार्यक्रम कोरोना कहरका कारण भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो ।