३२ असार २०८२, बुधबार
Follow Us

लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैनः ओली

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार १४:०२

काठमाडौ । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधनमा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ भनेर हल्ला चलाएको बताए ।

प्रधानमन्त्री ओलीले आजबाट कुन नेकपा मूल पार्टी हो भन्ने कुराको टुंगो लागेको पनि बताए । ओलीले आफ्नो कार्यक्रममा मान्छे बस्ने ठाउँ नपुगेको भन्दै आफूहरु मूल पार्टी भएको दावी गरे । उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीको मूल पार्टी मात्रै नभएर देशकै मूल पार्टी भएको दावी गरे ।

ओलीले दाहाल नेपाल समूहले नरभक्षी आन्दोलन चाहेको आरोप पनि लगाए । शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो भन्न् ? प्रश्न गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै नरभंक्षी आन्दोलनका दिन गएको र अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने दाबी पनि गरे ।

प्रधानमन्त्री ओलीले आफूहरुको आमसभामा आउन नदिन दाहाल–नेपाल समूहले नेपाल बन्द गरेर, विप्लवको नाम लिएर तर्साउन खोजेको समेत आरोप लगाए । बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो भन्दै उनले तर भेललाई रोक्न नसकेको बताए ।

प्रधानमन्त्री ओलीले आफैंले नारा लगाएर अस्थिरतातर्फ नभई चुनावतर्फ जान आग्रह गरेका थिए । ओलीले सुरुमा आफूले नारा लगाएर सभामा सहभागीलाई नारा लगाउन आग्रह गरेका थिए । ओलीले मुलुक निर्वाचनतर्फ गएको भन्दै निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ भन्दै प्रश्न गरेका थिए । आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ओलीले महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर अब निर्माण हुने बताए । ओली अबको ६ महिनाभित्र पञ्चेश्वरको डीपीआर बन्ने उद्घोष पनि गरे । उनले भारतले महाकालीपारिका दोधारा र चाँदनी नगरपालिकालाई १० क्यूमेक्स पानी पनि दिने उल्लेख गरे ।

धेरै पढिएको