४ असार २०८१, सोमबार
Follow Us

विभिन्न मुलुकमा नेपाली जनसम्पर्क समिति विस्तार गरिने

नेपालब्रिटेन संवाददाता
३० माघ २०७७, शुक्रबार ११:२८

काठमाडौं । नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरुमा पार्टीको विधान र नियमावली अनुसार विस्तार गर्दै लैजाने निर्णय भएको छ । नेपाली जनसम्पर्क समिति समन्वय विभागको शुक्रबार बसेको बैठक उक्त निर्णय गरेको हो ।

सबै म्याद सकिएका नेपाली जनसम्पर्क समितिहरुलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशन गरेको छ । यस्तै प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रमहरुमा व्यापक रुपमा जनसहभागिता जुटाउने समेत निर्णय गरेको छ ।

कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गरिएको थियो । कोभिड–१९ बाट प्रभावित भई उपचारत रहनु भएका सबै नेपालीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकहरुलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग बैठकले आग्रह गरेको थियो ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्य एवम् विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा बैठक बसेको विभागका सचिव महेश थपलियाले जानकारी दिए । नेपाली जनसम्पर्क समिति समन्वय विभाग केही समय अगाडि गठन भएको थियो । तर सचिव नियुक्त नभएकाले कुनै गतिविधि अगाडि बढ्न सकेको थिएन । गत साता मात्र पार्टी सभापति शेरबहादुर देउवाले महेश थपलियालाई सचिव नियुक्त गरेपछि समन्वय विभागको बैठक बसेको हो ।