८ जेष्ठ २०८१, मंगलवार
Follow Us

मोदीले लगाए कोरोनाविरुद्धको खोप

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७७, सोमबार ०७:४०

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार मोदीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा गरेका छन् । उनले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपील पनि गरेका छन् ।

भारतमा सोमबारदेखि अर्को चरणको खोप अभियान शुरु भएको हो । खोपका लागि ६ हजार सरकारी अस्पतालमा खोप केन्द्र तोकिएको छ । यो चरणमा पहिलो प्राथमिकतामा परेका ६० वर्षभन्दा माथिका २७ करोड नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । ज्येष्ठ नागरिकलाई खोप लगाइँदैछ । यससँगै ४५ देखि ६० वर्षका नागरिकलाई पनि खोप लगाउने तयारी थालेको छ ।

भारत सरकारले निजी अस्पतालमा शुल्क तिरेर र सरकारी अस्पतालमा भने निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको छ । भारतले १० हजार निजी अस्पतालाई खोप लगाउन अनुमति दिएको छ । निजी अस्पतालमा एक मात्राको चार सय शुल्क तोकिएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको छ । जसलाई भारतमा ‘कोभिसिल्ड’ नाम दिइएको छ । भारतमा संक्रमितको संख्या १ करोड ११ लाख १२ हजार नाघेको छ । जसमध्ये १ लाख ५७ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ ।