पत्रकारलाई धम्की दिएको अभियोगमा बेलायतमा एक जना दोषी ठहर, १० वर्ष कैद हुन् सक्ने !
लन्डन । बेलायती राजनीतिक कार्यकर्ता टमी रोबिन्सन दुई जना डेली मेल का पत्रकारलाई हिंसाको डर उत्पन्न हुने गरी उत्पीडन गरेको अभियोगमा दोषी ठहर भएका छन्।
साउथवार्क क्राउन अदालतमा भएको सुनुवाइका क्रममा जुरीले ४३ वर्षीय रोबिन्सनलाई उत्पीडनसम्बन्धी दुईवटा अभियोगमा दोषी ठहर गरेको हो। उनको वास्तविक नाम स्टेफन याक्स्ली–लेनन हो।
यो मुद्दा सन् २०२४ अगस्टमा डेली मेल र मेल अनलाइन मा प्रकाशित समाचारसँग सम्बन्धित छ। ती समाचारमा इङ्ग्ल्यान्डमा साउथपोर्ट हत्याकाण्डपछि दङ्गा भइरहेका बेला रोबिन्सन साइप्रसमा बिदा मनाइरहेको देखाइएको थियो।
अदालतमा प्रस्तुत विवरणअनुसार, बेडफोर्डसायरका रोबिन्सनले पत्रकार एन्ड्र्यु योङ र ज्याकोब डिर्नह्युबरलाई त्रसित पार्न धम्कीपूर्ण तथा दबाबमूलक व्यवहार गरेका थिए। त्यसका कारण दुवै पत्रकारले सुरक्षा व्यवस्था गर्नुपरेको वा घर छाड्नुपर्ने अवस्था आएको बताइएको छ।
रोबिन्सनले भने आफूमाथिका आरोप अस्वीकार गरेका थिए। डेली मेल ले आफूले साइप्रसमा घाम ताप्दै जातीय दङ्गा भड्काइरहेको आरोप लगाएको समाचार प्रकाशित गरेपछि आफू आत्तिएको र डराएको उनले जुरीसमक्ष बताएका थिए।
उनका अनुसार, समाचारमा साइप्रसको आयिया नापा नजिकैको होटलमा आफ्नो परिवार बसिरहेको खुलासा गरिएकाले परिवारको सुरक्षामा जोखिम उत्पन्न भएको थियो।
दोषी ठहर भएपछि बेलायतको सरकारी अभियोजन निकाय (Crown Prosecution Service) को विशेष अपराध तथा आतंकवादविरोधी विभागका प्रमुख फ्र्याङ्क फर्गुसनले रोबिन्सनले सामाजिक सञ्जाललाई हतियारका रूपमा प्रयोग गर्दै दुई पत्रकारविरुद्ध उत्पीडनको अभियान चलाएको बताए। उक्त व्यवहारले पत्रकारहरूमा हिंसाको गम्भीर डर उत्पन्न गरेको उनको भनाइ थियो।
रोबिन्सनलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गरिएको छ। उनलाई आगामी डिसेम्बर १६ मा सजाय सुनाइने तालिका छ।
हिंसाको डर उत्पन्न हुने गरी उत्पीडन गरेको अपराधमा अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्छ। अपराधमा जातीय वा धार्मिक आधारमा गम्भीरता थपिएको ठहर भएमा अधिकतम सजाय १४ वर्षसम्म हुन सक्ने कानुनी व्यवस्था छ।

