डायस्पोरा

डिसेम्बरमा हुने एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनः बिभिन्न उपसमिति गठन, तयारी तिब्र

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रको चौथो बैठकले आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई व्यवस्थित, भव्य र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ।

एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनको तयारीलाई प्रभावकारी बनाउन मूल आयोजक समिति, सल्लाहकार समिति, व्यवस्थापकीय तथा नोट टिपोट समिति, अतिथि व्यवस्थापन तथा यातायात समिति, प्रायोजक व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, भिसा तथा दर्ता व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, सत्र व्यवस्थापन समिति, मिडिया व्यवस्थापन समिति, लगानी प्रवर्द्धन समिति, सांस्कृतिक व्यवस्थापन समिति, घोषणापत्र तयारी समिति तथा अतिथि निर्धारण समितिलगायतका समिति गठन गर्ने निर्णय गरिएको हो।

संयोजक श्रेष्ठले सम्मेलनको तयारीमा जिम्मेवारी प्राप्त गरेका सम्पूर्ण समिति संयोजक, सहसंयोजक, सदस्य तथा सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले बैठकमा सहभागी भई महत्त्वपूर्ण सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने अग्रज, अभियन्ता, पदाधिकारी तथा सम्पूर्ण साथीहरूप्रति आभारसमेत व्यक्त गरेका छन्।

श्रेष्ठले संस्थागत एकतालाई थप सुदृढ बनाउन अनुभव, योगदान, प्रतिबद्धता र सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैले आ–आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार सम्मेलनलाई सफल बनाउनुका साथै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, युवा सहभागिता तथा नेतृत्व विकास, महिला सशक्तीकरण, लगानी प्रवर्द्धन र उद्यमशीलताको विकासलाई सम्मेलनले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। यी विषयमार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीहरूको योगदानलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत रहेको उनले बताएका छन्।

संयोजक श्रेष्ठले ‘सहयात्रा–२०२६’ केवल औपचारिक कार्यक्रम नभई एकता, सहकार्य, साझा जिम्मेवारी र समृद्ध भविष्य निर्माणको अभियान भएको उल्लेख गर्दै सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सरोकारवालालाई सक्रिय सहभागिता र रचनात्मक सहयोगका लागि आह्वान गरेका छन्।

सामूहिक प्रतिबद्धता र आपसी समन्वयबाट नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सफलताको नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्दै श्रेष्ठले सम्मेलनको सफलताका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम