६ जेष्ठ २०८१, आईतवार
Follow Us

नेकपा एमाले पुनः विभाजनको संघारमा

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७७, शनिबार ०५:१३

काठमाडौं । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा एकता केन्द्र ब्युँतिएसंगै नेकपा एमाले भित्रको बेमेल झनै बढ्दै गएको छ । जसले एमालेभित्र माधवकुमार नेपाल र केपी ओली समूहको ध्रुविकरण बढाएको छ । जसको पछिल्लो उदाहरण हो, नेकपा एमालेको माधवकुमार नेपाल समूहको निर्णय र अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्ने केपी ओली समूहको निर्णय ।

नेकपाको नेपाल समूहका हिजो शुक्रबार साँझ नयाँ बानेश्वरको अर्याल होटलमा बसेको स्थायी कमिटी बैठकले चैत ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाले पार्टी पुनर्संरचनाको अभियान अगाडि बढाउने नेताहरुले बताएका छन् । अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको बैठक राखेर अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरे लगत्तै एमाले नेपाल समूहले यस्तो निर्णय गरेको हो । नेपाल र खनाल समूहले भने ओलीले विधान विपरित निर्णय गरेको निष्कर्ष निकालेको छ।

‘शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि विपरितको बैठक हो’, बैठकपछि नेता रघुजी पन्तले भने, ‘यसलाई मानिदैन।’ पन्तले ओलीले आफूलाई इच्छा लागेका मान्छेलाई भेला गरेर निर्णय गर्दा त्यसलाई केन्द्रीय कमिटी मान्न नसक्ने बताए।

‘यो पर्टीलाई विभाजन गर्ने काम हो। विधान विपरित छलफल भएको छ। यो सम्पूर्ण कुरा विधि विधान विपरित छ’, उनले प्रश्न गर्दै भने, ‘आफूलाई इच्छा लागेका मान्छे भेला गरेर भएका निर्णयलाई कसरी केन्द्रीय कमिटीका निर्णय मान्ने ?’

शुक्रबार बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उल्लंघन गरेको आरोप भीम रावलले लगाएका छन्। ‘यसले पार्टी अधिवेशनको नीति निर्देशन उल्लंघन गरेको छ’, रावलले भने।

सुरुमा नेकपा फुटाउने षड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोंंचले काम गरेको देखिएको आरोपसमेत रावलले लगाए। ‘गुट भेला गरेर एमाले र माओवादी केन्द्रबीचको एकतालाई षड्यन्त्रपूर्वक समाप्त गरियो। त्यसपछि एमाले पार्टीलाई फुटाउने सोंचले यो काम गरेको देखिन्छ’, रावलले भने, ‘विधान विपरितको कामको विरोध गर्छौँ र अस्वीकार गछौँ।

पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा गम्भीर समीक्षा भएको रावलको भनाइ छ। उनले एमाले पार्टीका संस्थापक नेताको अपमान गरेर ओलीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाएको आरोपसमेत लगाएका छन्।
‘पार्टीका संस्थापक नेतालाई अपमान गरेर केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाए’, उनले भने, ‘यो सबै उपलब्धि सिध्याउने खेल हो।’

एमाले विभाजित नहोस् भनेर लागिपर्दा गुटगत गतिविधि बढाएको भन्दै बैठकमा ओलीको चर्को आलोचनासमेत भएको नेता रावलले बताए ।