२० बैशाख २०८१, बिहीबार
Follow Us

जसपाको माग पूरा गर्न ओली सकारात्मक

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७७, मंगलवार ०९:४०

काठमाडौं । सत्ता समीकरणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेताहरुबीच बालुवाटारमा छलफल भएको छ । छलफलमा प्रधानमन्त्री ओलीले जसपाका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासँग भेटवार्ता गर्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गर्दै मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । जसपा नेताहरूले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाएका थिए । उनीहरूले रेशम चौधरीको रिहाइलगायतका ५ बुँदे माग राखेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीसँगै एमाले नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए । सत्ता समीकरणबारे जसपा दुई कित्तामा बाँडिएको छ । तत्कालीन संघीय समाजवादी फोरम कुनै पनि हालतमा ओली सरकारलाई विस्थापन गर्ने पक्षमा देखिएको छ भने तत्कालिन राजपा ओलीलाई समर्थन गरेर सरकारमा जाने तयारीमा लागेको छ ।