२० बैशाख २०८१, बिहीबार
Follow Us

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप ल्याउने तयारी

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७७, बुधबार ०५:५३

काठमाडौं । चीन सरकारले सहयोगमा दिने कोभिड १९ विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आगामी आइतबार बेइजिङ्ग जाने भएको छ ।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपसँगै अन्य स्वास्थ्य सामाग्री समेत बेइजिङ्गले काठमाडौं पठाउनेछ । खोप लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज बेइजिङ्ग जाने तय भएको नेपाल एयरलाइन्सका ग्राहक सेवा विभाग प्रमुख टंक निधि दाहालले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल सरकारले भारतको खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डियाबाट खरिद गरेको १० लाख खोप पनि छिटै पठाउने प्रतिबद्धता आएको स्वास्थ्य मन्त्रालयका सह– प्रबक्ता समिर अधिकारीले जानकारी दिनुभयो । उत्पादनमा समस्या आउँदा सम्झौता अनुसार खोप उपलब्ध गराउन नसकेको उत्पादक कम्पनीले नेपाल सरकारलाई जानकारी गराएको छ ।

आगामी बैशाख दोश्रो साताबाट सुरु हुने दोश्रो डोजको खोप अभियानसम्म खोप पठाइसक्ने सिरम इन्स्टिच्युडले प्रतिबद्धता जनाएको प्रवक्ता अधिकारीले बताउनुभयो । सरकारले पहिलेकै सम्झौता अनुसार खोप नपठाएकाले थप खोप खरिद प्रक्रिया समेत अघि बढाएको छैन ।