१८ बैशाख २०८१, मंगलवार
Follow Us

तुवाँलो केही दिन कायमै, घर बाहिर नजान स्वास्थ्य मन्त्रालयको अपील

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७७, शनिबार ०४:१६

काठमाडौं । काठमाडौं उपत्यकामा लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने भएको छ । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागले जानकारी दिएको छ ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरेर वायु प्रदुषण जारी रहेकाले अत्यावश्यकबाहेक घर बाहिर नजान आग्रह गरेको छ । काठमाडौंको वायूमण्डलमा अत्याधिक धुलोका कण रहेकाले आँखा पोल्ने र छालामा इन्फेक्सनको समस्या आउनसक्ने भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको हो ।

यस्तै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न पनि मन्त्रालयले अपील गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जसहितका वन क्षेत्रमा भीषण डढेलो लागेको र त्यहाँबाट निस्किएको धुवाँ काठमाडौंसम्म आइपुग्दा वायु थप प्रदुषित भएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

प्रि–मनसुनी गतिविधि सक्रिय हुन सक्दा अप्रिल महिनामा औषत भन्दा निकै कम पानी परेको छ । जसका कारण वायुमण्डलमा धुलोका कणहरु बसेका छन् । तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।