२० बैशाख २०८१, बिहीबार
Follow Us

जसपाभित्रको किचलोले नयाँ सरकार गठन अलमलमा

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७८, बिहीबार ०५:४३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन । जसपाले औपचारिक निर्णय गर्न नसक्दा प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार गठनको प्रक्रिया अघि बढाउन नसकेको हो ।

जसपाले अविश्वासको प्रस्ताव दर्ता भएपछि आफूहरुलाई औपचारिक निर्णय लिन सहज हुने भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव अघि सारेको छ ।

जसपाका नेताहरुबीच नै ओली नेतृत्वको सरकारसँग मिलेर अघि बढ्ने वा नयाँ गठबन्धन गर्ने भन्ने विषयमा चर्को मतभेद रहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वर्तमान सरकारलाई समर्थन गरेर अघि बढ्ने सोचमा हुनुहुन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई कांग्रेससँग मिलेर ओलीको विकल्प खोज्ने पक्षमा हुनुहुन्छ ।

आन्तरिक किचलोका कारण औपचारिक निर्णय गर्न नसकेको जसपाकै कारण नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेस आफै अलमलमा परेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आएमात्र वैकल्पिक सरकार बन्ने स्थिति बन्छ ।

जसपाको अनिर्णयका कारण प्रतिनिधिसभा पुनःस्थापना भएको डेढ महिना पुग्दा पनि सरकार निर्माणले ठोस आकार लिन सकेको छैन । माओवादी केन्द्रले तीन दलबीच समझदारी जुटाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा उचित हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।