२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं फेरी विश्वको प्रदूषित सहरहरुको एक नम्बर सूचीमा

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७८, बिहीबार ०५:५३

काठमाडौ । काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ । काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ । देशका विभिन्न भेगमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो । हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो । हिजोको तुलना केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल एक नम्बरमै कायम रहेको छ ।

वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ । हाल देशका ३ सय ७७ स्थानमा डढेलो लागिरहेको बताइएको छ । केही दिन अघि मौसममा आएको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि थपिने क्रम रोकिएको छैन धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमिरहेको छ । जसका कारण काठमाडौंसहित देशका विभिन्न शहरमा घाम राम्रोसँग लाग्न सकेको छैन ।

पानी पर्ने सक्रिय प्रणालीको विकास भइ पानी नपरे सम्म तुवाँलो नहट्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज, भोलि र पर्सि देशका पहाडी भूभागहरुमा मेघ गर्जन सहित हल्का वर्षा हुने र हावाको गति समेत बढ्ने हुँदा केहि राहत मिल्न सक्ने महाशाखाले जनाएको छ ।