२३ बैशाख २०८१, आईतवार
Follow Us

५ घन्टाको अन्तरालमा ४ संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७८, आईतवार ०३:४५

काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो। रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उहाँको साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।

भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७:०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उहाँको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको छ ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।