२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७८, मंगलवार ०३:५३

काठमाडौं । प्रधानमन्त्री निवासमा बालुवाटारमा आज बिहानै धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । रामनवमीका दिन चितवनको माडी अयोध्याधाममा राम सीताका पूर्ण कदका मुर्ति अनावरण गर्ने योजना अनुरुप आज प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठानको आयोजना गरिएको हो ।

प्रम निवास बालुवाटारमा धार्मिक अनुष्ठान सम्पन्न गरी राम, सीता, लक्ष्मण र हनुमानका पूर्णकदका मुर्ति आजै चितवनको देवघाट पुर्याइने छ । मुर्ति लैजाने गाडीहरु फुलमालाले सिंगारिएका छन । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा यही बैसाख ८ गते रामनवमीका दिन अनावरण गरिने अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

मंगल धुनको गुन्जनसहित बालुवाटारमा भएको अनुष्ठानमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई आज प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको यो धार्मिक र्‍याली सहित सीता–रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलि चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम रहेको छ ।

पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्ने कार्यक्रम तय भएको छ ।