१९ बैशाख २०८१, बुधबार
Follow Us

गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार ०७:०६

बाँके । बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो । भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले जानकारी दिए।