२२ बैशाख २०८१, शनिबार
Follow Us

ओलीसँगको वार्ता लगत्तै माधव नेपालले छाडे राजधानी

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७८, बिहीबार १४:०४

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेता नेता नेपाल जनकपुर प्रस्थान गरेका छन् । ओलीसँग होटल मेरियटमा आज भएको भेट वार्ता खासै प्रगति नभएको बुझिएको छ । नेता नेपालले वार्तामा कुनै सहमाति नभएको आशय दिएका छन् ।

पार्टी अध्यक्षसँग आज भएको दोस्रो भेटपछि नेता नेपाल अलिक निराश देखिएका थिए । मेरियटबाट बाहिरिनेक्रममा टाढैबाट हात हल्लाएर नेपालले बोल्नुपर्ने गरी केही प्रगति नभएको बताएका थिए ।

बिहीबार आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्तापछि होटलबाट बाहिर निस्कँदै सञ्चारकर्मीलाई माधव नेपालले छोटो प्रतिक्रिया दिएका हुन्। नेता नेपालले पत्रकारहरुलाई भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको प्रतिक्रिया दिए। ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भने।