२३ बैशाख २०८१, आईतवार
Follow Us

जसपाको निर्णय: प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्तावलाई समर्थन

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०७८, शुक्रबार १२:१२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । वैशाख १४ मा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, जहाँ संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही र केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन नै तयार भएनन् ।

त्यही दिन कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठक बसेको बाबुराम–उपेन्द्र पक्षले बताएको छ । बैठकले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।