३० बैशाख २०८१, आईतवार
Follow Us

राष्ट्रियसभा उपनिर्वाचनः आज उम्मेद्वारी दर्ता हुँदै

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७८, शुक्रबार ०५:१९

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन जेठ ६ गते हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्याइएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेद्वार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । उम्मेद्वार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेद्वारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गर्नेले दलको आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्नेछ । राजनीतिक दलका उम्मेद्वारले सम्बन्धित दलको र स्वतन्त्र उम्मेदवारले तोकिए बमोजिमको चुनाव चिन्ह पाउनेछन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएका छन् । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।